नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदाै ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले संविधान र कानूनबमोजिम नै नयाँ दल दर्ता गरेको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले दल विभाजन गर्न पाइने कानूनी व्यवस्था र सर्वोच्च अदालतको विगतको फैसलाको नजिरका आधारमा आफूहरू अघि बढेको बताए।
बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले नेता नेपालसहितलाई गरिएको कारबाही सिफारिसको कार्यान्वयन नभएकामा विरोध गरेको सम्बन्धमा सोधिएको प्रश्नमा पूर्वप्रधानमन्त्री नेपालले भने, ‘उहाँहरूले त्यस्ता कुरा उठाउनुको कुनै अर्थ छैन ।’
उक्त दल राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८ बमोजिम एमालेबाट विभाजन भई यही भदौ ९ गते दर्ता भएको थियो ।

