एकीकृत समाजवादीका १४ सांसद्को पद जाने सम्भावना बढेपछि देउवालाई तनाव, फेरि एक साता पर धकेलियो मन्त्रिपरिषद् विस्तार

माधव नेपाल नेतृत्वको पार्टीलाई सर्वोच्चले मान्यता नदिए अल्पमतमा पर्न सक्छन् देउवा

अदालतको परमादेशसँगै नेकपा एमालेको सरकारलाई विस्तापित गर्दै गत असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४२ औं प्रधानमन्त्री बनेका थिए । केपी ओलीको असंवैधानिक कदम र सत्ताको घमण्डबाट आजित जनताले देउवा प्रधानमन्त्री बनेसँगै देशको राजनीति र समग्र विकासले लय लिने अपेक्षा गरेका थिए । तर गठबन्धनको टेकोमा प्रधानमन्त्री बनेका देउवाले आफ्नो कार्यकालको २ महिना गठबन्धनलाई बचाउन र बहुमतको सुनिश्चित गर्नमा नै खर्च गरेपछि जनस्तरबाटै उनको आलोचना हुन शुरू भएको छ ।

यो २ महिनामा उनले न त मन्त्रीपरिषद् विस्तार गर्न सके, न त विपक्षीलाई विश्वास दिलाउन नै । संसद्मा पेश गर्नुपर्ने विधायकहरूको चाङ एकातिर छ भने प्रतिपक्षी दलले सरकार र सभामुखले निष्पक्ष भूमिका नखेलेको भन्दै संसद्मा बखेडा झिकिरहेको छ । यही बेलामा एमसीसी पास गर्न अमेरिकाले दवाव दिइरहेको छ । हिजो एमसीसी पास गर्नुपर्ने बताउँदै आएको एमालेले नै आज आएर देउवा प्रधानमन्त्री बनेपछि एमसीसीको विरोधमा उभिएको छ । जनस्तरबाट चर्को आलोचना भैरहेको एमसीसीलाई पार लगाउन देउवालाई फलामको चिउरा चपाएसरी हुने निश्चित छ ।



यता एमसीसीकै कारण सत्ता गठबन्धनमा किचलो सुरू भएको छ । गठबन्धनमै रहेको राष्ट्रिय जनमोचाएले एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने र संसद्मा पेश गरिए सोही दिनदेखि गठबन्धनबाट बाहिरिने चेतावनी दिइसकेको छ । अर्कोतर्फ माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) भने संशोधन नगरी पास गर्न नसकिने बताउन्दै आएका छन् । जसपामा पनि एमसीसीलाई लिएर मतभेद कायमै छ । डा. बाबुराम भट्टराई पास गर्नुपर्ने लाईनमा छन् भने उपेन्द्र यादव पास गर्न नहुने लाइनमा छन् । सिंगो देश नै एमसीसीलाई लिएर दुई धारमा विभाजित भएपछि देउवा एमसीसी सल्ट्याएर मात्र मन्त्रिपरिषद् विस्तारमा लाग्ने तयारीमा छन् ।

किन ढिलाई भयो मन्त्रिपरिषद् विस्तारमा ?
प्रधानमन्त्री देउवाले अब कम्तिमा एक साता मन्त्रिपरिषद्लाई विस्तार नगर्ने भएका छन् । नेकपा एमालेबाट फुटेर गठन भएको एकीकृत समाजवादीसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका कारण तत्काल मन्त्रिपरिषद् विस्तार नहुने भएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका छन् । उक्त मुद्दाको पक्षमा फैसला भएमा माधव नेपालसहित १४ सांसद्को पद गुम्नेछ । त्यसले देउवालाई बहुमत जुटाउन नै धौ धौ पर्ने अवस्था आउन सक्छ ।

यो मुद्दामा सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले भदौ २८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । यस्तै नेपाल नेतृत्वको नवगठित दल नेकपा (एकीकृत समाजवादी) खारेज गर्न दायर रिटमा सर्वोच्चले निर्वाचन आयोगसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको छ । आयोगको जवाफ चित्त नबुज्दो भएमा नेपालको नयाँ दलले मान्यता नपाउन सक्छ । एमालेको फुटले मान्यता नपाउने र जसपाको फुटले मान्यता पाउने अवस्था भएमा एमाले र लोसमा मिल्दा उनीहरूकै बहुमत जुट्ने अवस्था हुनेछ भने देउवाले प्रधानमन्त्रीबाट हात धुनुपर्ने अवस्था आउन सक्छ । यस विषयका जानकार देउवाले अझै केही दिनको परिदृश्य हेरेर मात्र मन्त्रिपरिषद् विस्तारमा हात हाल्ने देखिएको छ ।।

सम्बन्धित समाचार