विश्वप्रकाश शर्माद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। जननायक बीपी कोइरालाको जन्म जयन्तीको अवसर पारेर शर्माले आज(बिहीबार) काठमाडौंको सुन्दरीजलबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले भने, ‘महामन्त्रीमा मेरो उम्मेदवारी काँग्रेसलाई लगातार १५ वर्षसम्म सरकारको नेतृत्व गराएर बीपीले कल्पना गरेको विकासको मोडल साकार गर्न हा । म महामन्त्री भएर त्यसको लागि लागिपर्नेछु ।’ शर्माले बीपीले कल्पना गरेको विकासको मोडल साकार गर्न आफूले उम्मेदवारी दिएको बताए ।



उनले आफ्नो उम्मेदवारीबारे सभापति शेरबहादुर देउवासँग पनि सल्लाह गरिसकेका एक स्रोतले बताएको छ । यसअघि युवा नेता गगन थापाले पनि महामन्त्रीमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । कांग्रेसका अर्का युवा नेता प्रदीप पौडेल पनि महामन्त्रीका आकांक्षी हुन् । उनले क्रियाशील सदस्यताको अन्तिम टुंगो लागेपछि महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छ्न् । कांग्रेसको विधानमा दुई महामन्त्रीको व्यवस्था छ।

कांग्रेसले अझै २० जिल्लाको सदस्यता टुंग्याउन बाँकी छ। पार्टीले गठन गरेको छानबिन समितिले अहिलेसम्म ५६ जिल्लाको क्रियाशील सदस्यताको नामावली मात्रै सार्वजनिक गरेको छ।

सम्बन्धित समाचार