एमसीसी उपाध्यक्ष सुमार र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (बिहीबार) ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।

आज काठमाडौँ आइपुगेकी सुमारले पहिलो भेट ओलीसँग गरेकी हुन् । भेटमा फतिमा एमसीसीलाई संसदबाट अनुमोदन गर्ने वातावरण मिलाउन ओलीलाई आगर्ह गरेकी छिन् । एमसीसी अघि बढाउन आग्रह गरेपछि ओलीले एमसीसीबारे सत्तापक्षको धारणा आएपछि आफूहरुले धारणा बनाउने बताएको एमाले विदेश विभाग प्रमुख डा.राजन भट्टराईले जानकारी दिए ।



एमसीसी उपाध्यक्ष सुमार र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

त्यस्तै भेटमा ओलीले विगतमा सरकारको नेतृत्वमा रहँदा आफूले एमसीसी सम्झौता पारित गर्न प्रयास गरे पनि सफल नभएको बताएका थिए ।यस्तै ओलीको भनाइ उधृत गर्दै भट्टराईले भने अहिले हामी सरकारमा छैनौँ, पहिले सरकारको धारणा आओस् ।’ छलफलमा एमालेबाट डा. भट्टराईसहित स्थायी कमिटी सदस्य विष्णु रिमाल, केन्द्रीय सदस्य सूर्य थापा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

सुमार नेतृत्वको एमसीसी टोलीले ओलीसहित प्रधानमन्त्री शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका नेता डा. बाबुराम भट्टराई लगायतसँग भेट्ने कार्यक्रम छ ।

सम्बन्धित समाचार