नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ भदाै ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटे लगत्तै अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको (एमसीसी) को टोलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेको छ।
दिउँसो २ बजेदेखि करिब १ घण्टासम्म ओलीसँग वार्ता गरेको एमसीसीको टोलीले त्यसपछि एमालेबाटै छुट्टिएका नयाँ पार्टीका अध्यक्ष नेपालसँग सिंहदरबारमा संवाद गरेको हो। एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले अध्यक्ष नेपालसँग समाजवादीको संसदीय दलको कार्यालयमा पुगेर एमसीसी पास गरेर अघि बढिदिन आग्रह गरेको छ।
एमसीसी उपाध्यक्षसँगको भेटमा अध्यक्ष नेपालले राष्ट्र हितविपरीतका कुनै पनि अनुदान स्वीकार्न नसकिने बताएका छन् । एमसीसी टोलीसँग भेटवार्ता हुने भएपछि बालुवाटारमा बिहीबारै बसेको सत्ता पक्षीय गठबन्धनको बैठकमा केहीबेर बसेर अध्यक्ष नेपाल बाहिरिएका थिए।
नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि माओवादी केन्द्रले जस्तै संशोधन नगरी एमसीसी पास गर्न नसकिने मत राखिरहेको छ। तर उसले पार्टी बैठकबाट औपचारिक धारणा बनाइसकेको छैन।

