ज्योतिष भनेको विज्ञानको पनि भगवान हो : ज्यो.पं. विहङ्गमराज तिमिल्सिना

प्रखर ज्योतिषी विहङ्गमराज तिमिल्सिना भविष्यवाणी गर्ने मामिलामा निकै सफल मानिन्छन् । उनी आफूले गरेका हजारभन्दा बढी भविष्यवाणीहरू हुबहु मिलेको दाबी गर्छन् । ज्योतिषशास्त्र विज्ञानको पनि भगवान भएकोले दक्ष र प्रखर ज्योतिषले गहिरो अध्ययनपछि गरेको भविष्यवाणी हुबहु मिल्ने उनको जिकिर छ । देशका शीर्ष नेताहरू र सरकार सञ्चालनको जिम्मेवारी पाएकाहरूले पनि ज्योतिषशास्त्री र धार्मिक गुरुहरूलाई चिन्न नसक्दा र उनीहरूको सुझाव नलिँदा देशले विकासको फड्को मार्न नसकेको उनको बुझाइ रहेको छ । प्रस्तुत छ उनै ज्योतिषपण्डित विहङ्गमराज तिमिल्सिनासँग गरिएको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय ज्योतिषशास्त्रमा मानिसहरूको आकर्षण बढेको हो ?
ज्योतिषशास्त्रमा तेजस्वी, ज्ञानवान गुरुसँग जानुभएको छ भने ज्योतिषशास्त्रले बोलेको एउटा अक्षर पनि फरक पर्दैन । किनकि ज्योतिष भनेको विज्ञानको पनि भगवान हो । आकाशमा कुन ताराहरू, नक्षत्रहरू र लग्नहरू उदय वा अस्त भयो, मनुष्यको जीवनमा र मानसपटलमा त्यही अनुसारको विचार र भावना जाग्रित हुन्छ । त्यही अनुसारको उसको कार्य–योजना बन्छ । यसकारण अहिलेसम्म ज्योतिषशास्त्रले बोलेका कुराहरू नेपालमा मात्र होइन, विश्व ब्रम्हाण्डमा अनुशरण गर्ने गरिएको छ । हामीहरूले हामीसँगै भएको ज्ञान र ऊर्जालाई सही प्रयोग गर्न सकिरहेका छैनौं । परापूर्वकालदेखि ज्योतिषशास्त्र सत्य सवित थियो, त्यसमा विश्वास थियो । जबसम्म चन्द्र र सूर्य रहन्छन्, तबसम्म ज्योतिषशास्त्रको विश्व ब्रम्हाण्डमा व्यपकता अझ वृद्धि हुँदै जान्छ ।



ज्योतिषशास्त्रमार्फत भाग्यरेखा नै परिवर्तन गर्न सम्भव छ र ?
अवश्य छ । एउटा मर्न लागेको विरूवालाई तपाईले मलजल गर्नुभयो भने, त्यसलाई पौष्टिक आहारा दिनुभयो भने त्यो हलक्क भएर आउँछ नि ! त्यसैगरी कोही मानिसको ग्रह दशा बिग्रिएको छ, शनि अस्त भएको छ, तपाइलाई शनिले दुःख दिइरहेको छ, व्यापार व्यवसायमा चौपट बनाएको छ, घर परिवारमा बेमेल बनाएको छ, जग्गा जमिन क्षतविक्षत बनाएको छ, धन सम्पति नोक्सान बनाएको छ भने शनिको अवस्थालाई न्यून गर्नुपर्छ । त्यो ज्योतिषशास्त्रबाट मात्र सम्भव छ । जस्तो तपाईको किड्नीमा स्टोन छ भने किड्नीको अपरेशन गर्नुपर्यो, अनि न ठीक हुन्छ । त्यसैगरी शनिले विभिन्न दुःख दिएको छ भने त शनिको दोष नै काट्नु पर्यो नि !

पछिल्लो समय नक्कली ज्योतिषीहरूको पनि बिगबिगी देखिन्छ । कसरी चिन्ने नक्कली र सक्कली ज्योतिषी ?
केही व्याक्तिहरूले क्षणिक चर्चामा आउन ज्योतिषशास्त्रको ज्ञान नै नभए पनि हचुवामा भविष्यवाणी गर्ने गरेको मैले पनि पाएको छु । राम्रा नराम्रा मानिसहरू हरेक क्षेत्रमा हुन्छन् । तिनलाई नै हेरेर यो ज्यातिषशास्त्रलाई होच्याउने काम गर्नु हुँदैन । विश्व ब्रम्हाण्डमा कहीँ नभएका ज्योतिषका विज्ञहरू नेपालमा छन् ।

हिजो पश्चिमा दर्शनका व्याक्तिहरू नेपालका गुरुहरूलाई भेट्न आउथे । नेपाल वेद व्यासहरू जन्मेको ठाउँ हो, गौतमबुद्ध, भृकुटी, सीता र ठूला ठूला बाल्मिकि जन्मिएकोे टाउँ हो । सिद्धपुरुषहरू नेपालमा थिए । तर अहिले भारतबाट कोही साना धार्मिक गुरुहरू आए भने हामी होटल होटलमा भेट्न पुग्छौ । उसकै चर्चा गर्न थाल्छौं । तर नेपालका कतिपय ज्योतिषशास्त्रमा विज्ञता हासिल गरेका ठूला ठूला गुरुहरूलाई हामीले वास्ता गर्दैनौं । मैले एक हजारभन्दा बढी भविष्यवाणी गरेको छु । मैले गरेका भविष्यवाणी फरक नै परेको छैन । तर खै त मलाई राज्यले कुनै सम्मान गर्न सक्यो ? मेरो योगदानको चर्चा खै भयो त ?

तपाईकोमा आउने मान्छेहरू के कस्ता समस्या लिएर आउने गर्दछन् ?
मसँग आउने मान्छेहरू प्रायः ज्योतिषशास्त्रसँग हार खाएकाहरू नै हुन्छन् । जताततै भौतारिँदा पनि समस्या समाधान नभएपछि एक पटक गुरुसँग परामर्श गरौं न त भनेर आउँछन् । मसँग मानसिक पीडाले छटपटाएका मानिसहरू आउँछन्, औषधी उपचारले छुन नसकेका मानिसहरू पनि आउँछन् । अधिकांंश मानिसहरू त वर्तमान र भविष्य हेर्न आउने गर्दछन् ।

हाम्रो संस्कृति हामीले भाग्यले पाएको हो । हामी किन नेपालमा जन्मियाैं होला ? किन अफगानिस्तानमा जन्मिएनौं ? किन इराकमा जन्मिएनौं ? हामीहरूले आफ्नो क्षमता चिन्न सकेका छैनौं । देशको सत्ता सम्हालेका नेताहरूले पनि ज्योतिष विद्यालाई पालना नगर्दा देश पछि परेको हो । संसद्मा झैझगडा भैरहन्छ, पार्टी पार्टीमा बेमेल छ । संसद् शुरू हुनुभन्दा अगाडि सभामुखलाई कता फर्काउने ? संसद् भवनको स्वरूप कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा अहिलेसम्म कुनै धार्मिक गुरुसँग सल्लाह गरेको पाइएको छैन । कुन चाहिँ सिद्ध पुरुष अहिलेसम्म संसद्मा पुगेको छ ? अनि कसरी हुन्छ देशमा शान्ति ?

यसबारे सरकार या दलहरूका शीर्ष नेताहरूलाई तपाईले कनै सुझाव दिनुभएको छैन ?
तपाईहरूजस्ता मिडियामार्फत मैले बाराम्बार भनेको छु । अब प्रधानमन्त्री र दलका नेताहरूसँग पनि म यो विषयमा कुरा राख्नेछु । महाभारतलाई हेर्दा पनि पाँच पाण्डवदेखि भगवान श्रीरामले पनि धार्मिक गुरुहरूलाई उच्च स्थान दिएको पाइन्छ । यो विषयमा नेताहरूको ध्यान गएको छैन । हीरा र सामान्य पत्थरका बीच भेद थाहा पाउन सकिएन भने मुलुक बन्दैन ।।

 

सम्बन्धित समाचार