नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ भदाै ।

सत्तारूढ गठबन्धनको बैठक बस्दै छ। आज बिहान ९ बजे बस्ने बैठकमा अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल हुने छ। एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएर विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्रीहरूसँग भेट गरिरहेकी छिन्।
उनले हिजो सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेको छ। उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका अन्य दलका शीर्ष नेतालाई भेट्ने कार्यसूची छ। एमसिसीबारे साझा धारणा बनाउन भन्दै बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै बैठकमा सरकार विस्तारबारे पनि छलफल हुने छ।
गठबन्धनको बैठक हिजो पनि बसेको थियो। तर बैठकमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएको र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ढिलो गरी पुगेपछि हिजो कुनै पनि विषयमा छलफल हुन नपाएको कांग्रेस नेता डाक्टर प्रकाशशरण महतले जनाकारी दिए।

