नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ भदाै ।

संघीय संसद अन्तरगत दुवै सदनको बैठक आज बस्दैछन्। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ। प्रतिनिधिसभा बैठकमा आर्थिक अध्यादेश र राष्ट्र ऋण उठाउनेसहित विभिन्न अध्यादेश पेस गरिँदैछ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यस्तै मन्त्री शर्माले नै राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश पेस गर्नेछन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट सपथ सम्बन्धी अध्यादेश र रेल्वे अध्यादेश प्रस्तुत गरिँदैछ । स्वाथ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड १९ संकट व्यवस्थापन अध्यादेश स्वीकृतका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।
बैठकमा स्वाथ्यकर्मी तथा स्वाथ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश,तेजाब तथा अन्य रासायनिक पदार्थ (नियमन) अध्यादेश,औषधि तेस्रो संशोधन र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पनि पेश गर्ने संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
बुधबार सुरु भएको संसदको अधिवेशनमा एमाले सांसदको नाराबाजीकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेश गरिएको छ। सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर नेकपा एमाले फुटाएको, निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका नखेलेको भन्दै एमालेले सदन अवरोध गरेको थियो। आजको बैठक पनि अवरुद्ध गर्ने एमालेको तयारी छ ।

