प्रधानमन्त्रीले मागे मन्त्रीहरुको नाम

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीचको बैठक सम्पन्न भएको छ । आज (शुक्रबार) बसेको बैठकमा प्रधानमन्त्री देउवाले छिट्टै सरकारलाई पूर्णता दिने भन्दै शीर्ष नेताहरुसँग मन्त्रीहरुको नामावली दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलबीच मन्त्रिमण्डल विस्तार र सरकारको गतिविधिबारे कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।



बैठकमा प्रधानमन्त्रीले ‘अब छिटो मन्त्रिपरिषदलाई पूर्णता दिनुपर्छ, एकदमै ढिलो भएको भन्दै पार्टीमा सल्लाह गरेर मन्त्रीहरु टुंगो लगाउनुस् भन्नुभएको’ छलफलमा सहभागी एक नेताले बताए । त्यस्तै गठबन्धनकै सहमति बमोजिम देउवाले चार मन्त्री थप्ने तयारी गरिरहेका छन् । गठबन्धनका शीर्ष नेताहरुबीच बैठकपछि मन्त्रिपरिषद् बैठक बस्नेछ ।

गत साउन २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवा नेतृत्वको सरकारले डेढ महिना बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार गर्न नसक्दा सरकारको आलोचना भइरहेको छ । यसअघि भएको भेटमा काँग्रेसले प्रधानमन्त्रीसहित सात, माओवादी केन्द्र, नेकपा समाजवादी र जसपाले ६-६ वटा मन्त्रालय पाउने सहमति भएपनि कुन-कुन मन्त्रालय पाउने भन्ने विषयमा भने टुंगो लागेको छैन ।

सम्बन्धित समाचार