नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ भदौ ।

कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ । आफू थुनाबाट छुट्न पाउनुपर्ने भन्दै आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको इजलासमा परेको निवेदन ‘हेर्न नमिल्ने’मा परेको सर्वोच्चले जानकारी दिएको छ । २७ चैत २०६४ मा रौतहटमा आलमको घर नजिक बम बनाउने क्रममा बम विस्फोट हुँदा घाइते आठजनालाई उनले ईंट्टाभट्टामा जिउँदै जलाएर हत्या गरेको अभियोगमा थुनामा रहेका छन् ।
जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने भन्ने आदेश विरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए ।

