नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ भदाै ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छिन्। शुक्रबार प्रधानमन्त्री देउवालाई भेट्न उपाध्यक्ष फतिमा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेकी हुन्।
प्रधानमन्त्री देउवाले ट्विटरमा तस्वीर सार्वजनिक गर्दै भेटघाट भएको जानकारी दिएका हुन्। भेटमा उनीहरूले एमसिसीबारे आ-आफ्नो धारण राखेका थिए। साथै एमसिसीले नेपालको आर्थिक रूपान्तरण गर्न सक्ने सम्भावनाबारे छलफल भएको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन्।
‘आज एमसिसीको उपाध्यक्ष फतिमालाई भेट्न पाउँदा खुसी लाग्यो,’ उनले लेखेका छन्,’हामीले नेपाल-अमेरिकी सहयोग एमसिसी कम्प्याक्ट र यसले नेपालको आर्थिक रूपान्तरणका सम्भावनाबारे आ-आफ्नो विचार राख्यौं।’ यसअघि उपाध्यक्ष सुमारले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताहरूलाई भेटेकी थिइन्।

