नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ भदाै ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै प्रतिनिधिसभा अवरूद्ध गर्दै आएको नेकपा एमालेले उनीविरूद्ध महाअभियोग दर्ता गर्ने तयारी थालेको छ । प्रमुख प्रतिपक्षी दलको विरोधका बावजुद सभामुखले सदनमा पेलेरै काम कारवाही अगाडि बढाएकोले उनीविरूद्ध महाअभियोग ल्याउनुको विकल्प नभएको निष्कर्षमा एमाले पुगेको हो । एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले संसदीय मर्यदा भुलेर प्रतिपक्षीलाई पेलेरै अगाडि बढेपछि एमालेसामु महाअभियोग पेश गर्नुको विकल्प नरहेको बताए ।
एमालेले आफूहरूले कारबाही गरेका माधव नेपालसहित १४ सांसद्लाई गैह्रसंसद् करार गरिनुपर्ने माग राखेको छ । उनीहरूलाई कारवाही गरिएको पत्र सभामुखले टाँस्न ढिलाई गर्नुको कारणबारे सभामुखको जवाफ माग गरेको छ । यो मुद्दा सर्वोच्चमा विचाराधीन रहेको र सभामुखको कामबारे सदनमा प्रश्न उठाउने व्यवस्था नभएको भन्दै अग्नि सापकोटा एमालेलाई पेलेरै अगाडि बढेका छन्, जसले गर्दा सदनमा सत्तापक्ष र प्रतिपक्षबीच टसल देखिएको छ । यसले सिङ्गो देशको राजनीति प्रभावित हुने देखिएको छ ।
यसअधि बुधबारको बैठकमा एमालेका प्रमुख सचेतक भट्टराईले निष्पक्ष भूमिकामा प्रश्न उठाएपछि सापकोटाले आफूले प्रचलित कानुनका प्रावधानमा रहेर निर्णय लिएको बताएका थिए । ‘हाल यो विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । साथै, नेपालको संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरूको सम्बन्धमा संघीय संसद्को कुनै पनि सदनमा छलफल गर्न बन्देज गरेको व्यहोरा जानकारी गराउँछु । त्यसैगरी प्रतिनिधि सभा नियमावली २०७५ को नियम २१ को खण्ड ख, ग र घ का प्रावधानहरू समेत यहाँहरूलाई समेत जानकारी छ भन्ने कुरामा समेत म विश्वस्त छु,’ उनको भनाइ थियो ।
एमालेको माग अस्वभाविक : गठबन्धन
एमालेले लगातार सदन अवरूद्ध गर्न थालेपछि सत्ता गठबन्धनको शुक्रबारको बैठकमा यसबारे पनि छलफल भएको थियो । एमालेको माग संवाद गरेर हल गर्न नसकिने किसिमको रहेको निष्कर्ष गठबन्धन बैठकले निकालेको बताइन्छ । एमालेले संसदीय व्यवस्थाभित्र प्रतिपक्षले प्रयोग गर्नसक्ने आफ्नो असहमति व्यक्त गर्न सक्ने तरिकाको चरम दुरूपयोग गर्न खोज्दाखेरी यो स्थिति आएको गठबन्धनको धारणा छ । आफ्नो पार्टी छोडेर अर्को दलमा गएर आधिकारिकता पाएकालाई संसद् मान्न सक्दिन भन्ने चरित्र लोकतान्त्रीक चरित्र नभएको गठबन्धनको जिकिर छ ।
साथै एमालेले सभामुखविरूद्ध महाअभियोग पेश गरे गठबन्धनलको तर्फबाट राष्ट्रपतिविरूद्ध महाअभियोग लगाउने विषयमा पनि बैठकमा छलफल भएको बताइन्छ । यद्दपि गठबन्धनले एमसीसी र सदन सुचारूबारे एमालेसँग वार्ता गर्ने भएको छ । शुक्रबारको सदन बैठक अगाडि पनि गठबन्धनले एमालेसँग वार्ता गर्न चाहेको थियो तर एमालेले इच्छा नदेखाएपछि सदनमा सभामुखले पेलेरै अगाडि बढेका थिए । एमाले अध्यक्ष केपी ओली र सभामुख सापकोटाबीचको व्यक्तिगत इगोको कारण नेपालको राजनीति निषेधको दिशातर्फ उद्यत देखिन्छ ।।

