संसद् बैठक बस्दै, प्रधानमन्त्रीलाई रोस्टम जानै नदिने एमालेको रणनीति

प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलको बैठक आज अपराह्न १२ बजे बस्दैछ । संसद बैठकको एक घन्टा अर्थात १२ बजे दलको बैठक बस्न लागेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । दुबै सदनको बैठक अपराह्न १ बजे बस्दैछ ।

प्रतिपक्षीको विरोधका बीच सरकारले संसदमा पेलेरै जाने रणनीति अंगिकार गरेपछि सो विषयमा धारणा बनाउन संसदीय दलको बैठक बस्न लागेको हो । ‘एमालेले कारबाही गरेका सांसदका विषयमा सभामुखले समयमै निर्णय नदिएको विषयमा हामीले संसदमा विरोध जनाउदै आएका छौँ । विरोधका बीच प्रतिस्थापन बजेट ल्याइएको छ,’ भट्टराईले भने, ‘प्रक्रिया नै नपुर्‍याएर प्रतिस्थापन बजेट कसरी आयो ?’



आजको सदनमा एक दर्जन अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ । प्रधानमन्त्री शेरबहादुर देउवा पनि संसद जाँदैछन् । देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृतीका लागि प्रस्ताव पेस गर्ने र रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ।

एमाले भने प्रधानमन्त्रीलाई रोस्टममै जान नदिने रणनीतिमा छ । गत शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा पनि प्रतिपक्षीलाई छलेर रोस्टम पुगेका थिए । जसलाई एमालेले ‘गुरिल्ला शैली’ भन्दै आएको छ । ‘आजको सदन पनि अवरोध गर्छौ, रोस्टममा जान दिँदैनौँ,’ भट्टराईले भने, ‘उहाँहरू पेलेरै जाने मनस्थितिमा हुनुभयो । उग्र हुनुभयो हामी प्रतिवाद गर्छौँ ।’

सम्बन्धित समाचार