नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ भदौ ।

सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन शीर्ष नेताहरुको छलफलमा मन्त्रिपरिषद्को विस्तारमा छलफल भएपनि सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार तत्काल नहुने देखिएको छ ।
प्रधानमन्त्री देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको झण्डै दुई महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । त्यस्तै नेकपा (एमाले)ले अवरोध गर्दै आएको संसद्लाई कसरी अगाडि बढाउने भन्नेबारेमा पनि छलफल भएको बालुवाटार स्रोतले बताएको छ । यस्तै एमसीसीबारे भने बैठक कुनै निर्णयमा पुग्न सकेन।
छलफलमा प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायतको गठबन्धनभित्र रहेका पाँच दलका शीर्ष नेता सहभागी थिए । देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा हाल चार मन्त्री र एक राज्यमन्त्री छन् । यसअघि बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले दलका शीर्ष नेताहरुसँग पार्टीको तर्फबाट सरकारमा पठाउने मन्त्रीको नाम मागेका थिए ।

