नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ भदौ ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबारको लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । सोमबार साढे दुई बजेको लागि सभामुखले सर्वदलीय बैठक आह्वान गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातार संसद अवरोध गर्दै आएपछि त्यस विषयलाई निकास दिनको लागि सभामुखले बैठक बोलाएका हुन् । एमालेले १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ । आजै सभामुख सापकोटाले संसद्को अवरोध हटाउनको लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र प्रमुख प्रतिपक्षी दल नेकपालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सांसद खगराज अधिकारी लगायतसँग छलफल गरेका थिए । तर, एमालेले १४ सांसदलाई कारबाही नगरेसम्म संसद अवरुद्ध गर्ने बताएका थिए ।
एमालेले गत २३ भदौदेखि प्रतिनिधिसभाको बैठक निरन्तर अवरोध गरिरहेको छ। गत शुक्रबार पनि एमालेको विरोधकै बीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर नेकपा एमाले फुटाएको, निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका नखेलेको भन्दै एमालेले सदन अवरोध गरेको थियो ।

