नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ भदौ ।

प्रतिनिधिसभा बैठक सुचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष नेकपा एमालेको भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । संसद बैठक लगातार अवरुद्ध भइरहेका बेला प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरूको प्रश्नमा जवाफ दिंदै प्रतिनिधिसभा बैठक सुचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष नेकपा एमालेको रहेको बताए ।
सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर नेकपा एमाले फुटाएको, निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका नखेलेको भन्दै एमालेले सदन अवरोध गर्दै आएको छ । प्रधानमन्त्री देउवालाई सञ्चारकर्मीहरुले यसरी कति दिन संसद चलाउनुहुन्छ भन्ने प्रश्नको जवाफमा देउवाले भने, ‘ओलीजीलाई सोध्नू’ ।
एमालेले माधवकुमार नेपालसहित १४ जना आफ्नो पार्टीले निष्काशन गरेका सांसदलाई संसद बैठकमा भाग लिन लगाएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान लिँदै आएको छ ।

