नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ भदाै ।

नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बागमती प्रदेश सरकारलाई दिएको समर्थन एकीकृत समाजवादीले फिर्ता लिएको हो । पार्टिका बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन् । ज्येष्ठ सदस्य सांसद माधव पौडेलको अध्यक्षतामा आइतबार बसेको एकीकृत समाजवादीको पहिलो संसदीय दलको बैठकले पाण्डेलाई दलको नेताको रुपमा चयन गरेको हो ।
प्रदेशसभा सचिवालयमा एमालेको विभाजन भएर गठन भएको एकीकृत समाजवादीमा सनाखत गरेका १३ सांसदहरुलाई मान्यता दिँदै नामावलीसहितको पत्र निर्वाचन आयोगबाट प्राप्त भएसँगै दलको चयन गरिएको हो । बैठकले संसदीय दलको विधान पारित गरेको र अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता पाण्डेले जानकारी दिए ।
आधिकारीक रुपमा प्रदेशसभा दर्ता भएसँगै बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ । बागमतीमा एकीकृत समाजवादी १३ सांसदसहित चौथो दल भएको छ ।

