नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ भदौ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन विजयी भएको छ । सोमबार राति भएको खेलमा बर्नली एभर्टनसँग ३-१ ले पराजित हुन पुग्यो ।
एभर्टनको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा बेन मिकोले गोलबाट बर्नलीले अग्रता लिएको थियो । तर, खेलको ६० औं मिनेटमा माइकेन केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यस्तै, खेलको ६५ औं मिनेटमा एन्ड्रोस टाउनसेन्ड्सको गोल मार्फत एभर्टन २-१ ले अघि रह्यो । उनले २५ यार्डबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । यस्तै, खेलको ६६ औं मिनेटमा अब्दुलाय डौकौरेले गोल गर्दै एभर्टनलाई ३-१ को सहज जित दिलाए । जितसँगै एभर्टन ४ खेलमा १० अंक जोड्दै तालिकाको चौथों स्थानमा रहेको छ ।
म्यानचेस्टर युनाइटेड, चेल्सी र लिभरपुलसँग समान अंक भएपनि एभर्टन गोल अन्तरमा पछि पर्दै चौथों स्थानमा रहेको हो । ४ खेलमा १ अंक जोडेको बर्नली भने रेलिगेशन क्षेत्रमा रहेको छ ।