नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ भदौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । आज (मंगलबार) सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र खड्काबीच भेटवार्ता भएको हो ।
भेट वार्तामा मन्त्रीपरिषद् विस्तार, संसदमा जारी गतिरोध लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको एक स्राेतले बताएको छ । भएको भेटवार्ता उनीहरुबीच करिब एक घण्टा छलफल भएको थियो । प्रचण्ड र खड्काको यो नियमित भेट हो । सरकारका गतिविधि सुचारु गर्ने लगायत सबै विषयमा प्रचण्ड र खड्काबीचमा छलफल भएको छ ।
प्रधानमन्त्री देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । त्यसयता करिब दुई महिनाको अवधिमा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । अहिले सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्र छन् । मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिन प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट दबाब छ ।

