नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० भदाै ।

नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका लागि थप सात जिल्लाको क्रियाशील सदस्यता प्रकाशित गरेको छ । क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन गठित कार्यदलले निर्वाचन समितिलाई सदस्यता हस्तान्तरण गरेपछि समितिले क्रियाशील सदस्यको सूची प्रकाशन गरेको हो ।
‘विवादिन भएर रोकिएका १० जिल्लाको क्रियाशील सदस्यता हामीलाई प्राप्त भएको छ,’ केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले भने, ‘हामीले ७ जिल्लाको प्रकाशित गरेका छौँ। तीन जिल्लाको प्रावधिक रूपमा मिलाउँदै भएकाले रोकेका छौ ।’ उनले बाँकी जिल्लाको क्रियाशील सूचीसँगै ती जिल्लाको पनि प्रकाशित हुने बताए ।
आज क्रियाशील सदस्यताको सूची प्रकाशित भएका जिल्लाहरूमा काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बर्दिया, कपिलवस्तु र बाजुरा रहेका छन् । अझै १३ जिल्लाको क्रियाशील सदस्यता भने टुङ्गिएको छैन ।

