नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले घरमा आगो लगाएर खरानी धसेर हिँडेको आरोप लगाएका छन् । आज (बिहीबार) नेकपा एमाले काठमाडौ जिल्ला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
नेपालले कार्यकर्ताको जीवनसँग खेलवाड गरेको भन्दै ओलीले कम्युनिष्ट एकतालाई एक पटक प्रचण्डले र अर्को पटक माधवकुमार नेपालले फुटाएको बताए । ओलीले माधव नेपाललाई केही नभन्ने भन्दै नेपाल पक्षका कार्यकर्तालाई फर्किन आग्रह गरे । उनले भने, ‘माधव नेपाल घरमा आगो लगाएर, खरानी धसेर त्रिपन्ताम् भनेर तीर्थ यात्रामा हिँडेका हुन् उनलाई के भन्नु ।’
ओलीले प्रचण्डको घरेलु कार्यकर्ता नहुन आग्रह गर्दै गाईलाई घाँस हाले दुध दिन्छ, प्रचण्डले के दिन्छन् ? भन्दै प्रश्न गरे । ओलीले देशको भविष्यसँग नेपालले खेलवाड गरेको आरोप लगाए ।

