नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असाेज ।

पर्साको वीरगञ्ज महानगरपालिका– २४ का ३३ वर्षीय फुलहसन अन्सारी २०७४ सालको दसैँको अवसरमा कैद सजाय माफी पाएर जेलबाट छुटेका थिए। विवेक सिंह भनेर चिनिने अन्सारीलाई वीरगञ्जका व्यवसायी राजेश क्याल र जटाशंकर साहको हत्या अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत पर्साले जन्मकैदको सजाय दिएको थियो।
राष्ट्रपतिबाट माफी पाएर छुट्नुअघि उनले जेलभित्रै तेस्रो हत्या पनि गरेको खुलासा भएको छ। यद्यपि, जेलभित्रै एक जनाको ज्यान लिएको एक वर्ष नबित्दै असल चालचलनको आधारमा बाँकी कैद मिनाहा गरी उनलाई छाडिएको थियो। २०७३ पुस १० गते दिउँसो ४ः४५ मा अन्सारीसहितका ६ जना कैदीले वीरगञ्ज कारागारभित्र अपहरण मुद्दाका कैदी राजन बानियाँको हत्या गरेका थिए। चक्कु प्रहारबाट घाइते भएका बानियाँको माघ १७ गते मृत्यु भएको थियो। उनीहरुको आक्रमणबाट अरु ८ जना घाइते भएका थिए।
सर्वश्वसहित जन्म कैद तोकिएका र जेलभित्र अर्को हत्याकाण्ड मच्चाएका अन्सारीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ असोज १३ गते माफी दिएकी थिइन्। असल चालचलन भएको र आधा कैद भुक्तान गरिसकेका जघन्य अपराधबाहेकका कैदीलाई कारागार प्रशासनको सिफारिसमा माफी दिने गरिएको छ।

