नवकान्तिपुर संवाददाता
काठमाडौं, २ असाेज ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि अहिले सत्तारूढ गठबन्धनमा आबद्ध दलहरू बिलाएर जाने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी १४ महिनामा निर्वाचन हुने र त्यसपछि अहिले सरकारमा रहेका दलहरू बिलाएर जाने बताएका हुन् । मुलुकमा निर्वाचन हुन नदिन केही दलहरूले अलोकतान्त्रिक तवरले अनेक प्रपञ्च रहेको आरोप पनि उनले लगाए ।
गठबन्धनमा रहेका दलहरूले असंवैधानिक र अनैतिक काम गरेको भन्दै ओलीले निर्वाचन आयोग र सभामुखले पनि तमासा देखाएको टिप्पणी गरे । उनले अदालतको आदेशबाट अस्वाभाविक ढंगले अस्वाभाविक उद्देश्यका लागि वर्तमान सरकार बनेको उल्लेख गरे ।
आफूले भ्रष्टाचार अन्त्य गर्न प्रण गरे पनि अहिलेको सरकारले ‘सेटिङ’मा अर्बौँको भ्रष्टाचारको खेल सुरु गरेको र त्यसका लागि सरकारले अहिले करको दायरा हेरफेर गरेको आरोप पनि उनले लगाए ।
अध्यक्ष ओलीले सरकारले कर्मचारीलाई पनि दुःख दिन सुरु गरेको तर्क गरे । कर्मचारी राज्यको स्थायी सरकार भएको बताउँदै उनले जुनसुकै दलको सरकार आए पनि सहयोग गर्न आग्रह गरे । कार्यक्रममा नेकपा माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष अम्बिका धमलासहितका सदस्यहरू निजामती कर्मचारी संगठनमा समाहित भएका थिए ।

