एमसीसी र सरकार सञ्चालनमा नसघाएको भन्दै गठबन्धनसँग देउवा असन्तुष्ट, ओलीसँग भएकै हो गोप्य संझौता ?

देउवा र ओली नजिक हुन थालेपछि गठबन्धनमा दरार

तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई सत्ताबाट हटाउन गठन भएको गठबन्धनमा विश्वासको सङ्कट देखिएको छ । विषेशगरी एमसीसी पास गर्ने सवालमा गठबन्धनमा एकमत कायम नभएपछि यतिबेला राष्ट्रिय राजनीतिको समीकरण नै परिवर्तन हुनसक्ने सङ्केतहरू देखा परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै नेतृत्वकालमा भएको एमसीसी सम्झौता हुबहु पास गराउन चाहन्छन् तर गठबन्धनमै रहेका माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपा संसोधनविना एमसीसी पास गर्नु हुँदैन भन्ने लाइनमा छन् । यता प्रमुख प्रतिपक्षी नेकपा एमाले भने एमसीसीकै विवादलाई लिएर गठबन्धन फुटाउने प्रयासमा देखिन्छ ।

एमसीसी पास नभएमा वैदेशिक सहायताहरू रोकिने र आफूमाथि विश्वले विश्वास गर्न नसक्ने बुझेका देउवाले गठबन्धन धरापमा परे पनि एमालेको साथ लिएर भए पनि एमसीसी पास गराउने रणनीतिमा लागेका छन् । त्यसको लागि उनले एमाले अध्यक्ष केपी ओलीसँग निकटता बढाइरहेका छन् । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई पटकसम्म बालकोट नै पुगेर ओलीसँग वार्ता गरेका छन् भने यसबीचमा देउवा र ओलीबीच पनि पटक पटक गोप्य फोनवार्ताहरू भएको स्रोतको भनाई छ ।



ओलीले पनि देउवालाई सशर्त एमसीसीमा सहयोग गर्ने बचन दिएको बताइन्छ । सत्ता गठबन्धनलाई अफ्ठ्यारोमा पर्ने कुटिल मनासायका साथ ओलीले देउवालाई उचालिरहेको बुझ्न सकिन्छ । ओलीको एउटै लक्ष्य संसद्लाई असफल देखाएर अर्ली इलेक्शनमा जाने रहेको छ । निर्वाचन जति चाँडो गर्यो त्यति काँग्रेसलाई पनि फाइदा हुने बुझेका देउवाले एमसीसी पास गर्ने सर्तमा नै ओलीको आग्रहमा आँखा चिम्लिएको र गठबन्धन टुटे पनि आफ्नै नेतृत्वमा निर्वाचन गराउने योजनामा लागेको बताइन्छ । यस विषयमा कानुन मन्त्रीकै रोहबरमा ओली र देउवाबीच गोप्य समझदारी नै बनेको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना नाग्दासमेत विभिन्न बाहना बनाएर मन्त्रिपरिषद् विस्तारलाई रोकेको भन्दै देउवा प्रचण्ड र माधव नेपालसँग असन्तुष्ट रहँदै आएका छन् । दुई चरणमा मन्त्रिमण्डलाई पूर्णता दिने भन्दै तत्काललाई दुई दुई जना मन्त्रीको नाम माग्दा पनि गठबन्धनका दलहरूले सहयोग नगरेको, एमसीसीका विषयमा साझा धार।णा बनाउन नचाहेको र राष्ट्रिय सहमति कायम गरेर सदनलाई निरन्तरता दिने विषयमा पनि गठबन्धनले सरकारलाई सहयोग नगरेको जस्ता आरोप देउवाले गठबन्धनलाई लगाउने गरेका छन् ।

गत साता सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा समेत देउवाले सभामुख र गठबन्धनका दलहरूको खुलेरै विरोध गरेका थिए । एमालेलाई नमनाई सर्वदलीय बैठक बोलाएर जनताको नजरमा छारो हाल्ने काम मात्र गरेको भन्दै उनले सभामुखको आलोचना गरेका थिए । परिणाम्मुखी काम नगरेको ओरोप देउवाको थियो । साथै हाल आएर बजेट होली–डेको अवस्था आएकोमा पनि देउवा अर्थमन्त्रीप्रति असन्तुष्ट देखिएका छन् । सभामुख र अर्थमन्त्रीको केटाकेटी खेलले कांग्रेसको आफ्नो बदनाम भएको आफूनिकटहरूसँग देउवाले दुखेसो पोख्दै आएका छन् ।

यता देउवा र ओलीको निकटतालाई नजिकबाट नियालीरहेका प्रचण्डले शनिबार मात्र एमसीसीकै कारण गठबन्धन फुट्न नदिने अभिव्यक्ति दिएका थिए । उनले माधव नेपाल र उपेन्द्र यादवसँग पनि एमसीसीभन्दा गठबन्धन ठूलो भएकोले गठबन्धन बचाउनकै लागि भए पनि एमसीसीबारे धारण परिवर्तन गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै सचेत गराएको बताइन्छ । अर्थात् गठबन्धन फुटाएर देउवा र ओलीलाई नजिक हुन दिनुभन्दा एमसीसीमा आँखा चिम्लनु सत्तापक्षलाई फाइदाजनक हुने निष्कर्षमा प्रचण्ड पुगेको खुमलटार स्रोतको दाबी छ ।।

सम्बन्धित समाचार