नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असोज ।

डाक्टर अशेष ढुंगानाले पनि सरकारबाट प्राप्त विभूषण नलिने घोषणा गरेका छन् । वीर अस्पतालका छाती रोग विशेषज्ञ ढुंगानालाई संविधान दिवसको अवसरमा सरकारले ‘प्रबल जनसेवाश्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो ।
सामाजिक सञ्जाल ट्वीटरमा सायमीले पदक नलिने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘संविधान दिवसको उपलक्ष्यमा मेरो नाम पनि पदक पाउनेमा देख्दा खुसी लागेता पनि पदक दिँदा विभूषण सिफारिस कार्यविधि एवम् प्रदान सम्बन्धी मापदण्ड २०७५ अनुसार नेपाल सरकार निजामती कर्मचारीको तह र श्रेणी साथसाथै मेरो शैक्षिक पद (सह प्राध्यापक) सरह नमिलेको हुनाले नेपाल सरकारलाई पुरस्कार प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै सहर्ष अस्वीकार गरेको घोषणा गर्दछु । पदक पाउने सम्पूर्ण महानुभावहरूलाई बधाई ज्ञापन गदै नेपाल सरकारले भविष्यमा प्रदान गर्ने पुरस्कार मान पदवी सम्मानहरू विवादरहित रहोस् भने कामना गर्दछु । साथै चिकित्सकीय सेवा प्रदान गर्ने क्रममा आफ्ना बिरामी र बिरामीका आफन्तजनहरूबाट पाइएको धन्यवाद नै सबैभन्दा ठुलो पुरस्कार हुने हुँदा सो पाइराख्ने आशा गर्दछु ।’
यसअघि पत्रकार हरिबहादुर थापा, कार्टुनिस्ट रविन सायमी र पूर्वमन्त्री पीएल सिंहले सरकारबाट प्राप्त विभूषण नलिने घोषणा गरेका थिए । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी हुन् ।
डाक्टर अशेष ढुंगानाको ट्वीट :

