नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असाेज ।

नेकपा एमालेले दशौं महाधिवेशनबाट पोलिट्ब्यूरो संरचना हटाउने प्रस्ताव गरेको छ । आजबाट शुरु भएको स्थायी कमिटी बैठकमा पेश गरिएको विधान संशोधन प्रस्तावमा पोलिट्ब्यूरो संरचना नराख्ने उल्लेख छ ।
तर स्थायी कमिटी भने कायम राख्ने प्रस्ताव छ । प्रस्तावअनुसार, ३५ सदस्यीय स्थायी कमिटी बन्नेछ । केन्द्रीय कमिटीको संख्या २२५ सदस्यीय प्रस्ताव गरिएको छ । एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी संख्या पनि हेरफेर गर्ने प्रस्ताव गरिएको छ । यसअघि पाँच उपाध्यक्ष रहेकोमा अव तीन उपाध्यक्ष रहनेछन् ।
तर सचिवको संख्या भने सात पु¥याउने प्रस्ताव छ । यसअघि सचिवको संख्या पाँच थियो । नयाँ प्रस्तावअनुसार एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, सात सचिव रहनेछन् ।

