यी दुई विधेयक प्रतिनिधिसभा बैठकबाट स्वीकृत

प्रतिनिधि सभाको सोमवारको बैठकले २ विधेयक स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०७८’ बहुमतले स्वीकृत गरेको हो ।

एमालेको विरोधकाबीच विनियोजन विधेयक पारित भएपछि सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक विधेयक २०७८ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए । बैठकमा प्रस्तुत विधेयक उपरको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए ।



उनले राजस्वमा आधारित अर्थतन्त्रलाई उत्पादनमूलक अर्थतन्त्रमा परिमार्जन गर्दै लगिने सरकारको नीतिअनुरूप बजेटमा सामान्य हेरफेर गरिएको जानकारी दिए । सभामुखले विधेयकमाथि सैद्धान्तिक छलफलका लागि सांसद प्रेम सुवाललाई ३ मिनेट समय दिएका थिए । संसद सुवालले भक्तपुरको साना औद्योगिक क्षेत्रले सो क्षेत्रका स्थानीयवासीलाई असर पुर्याएको भन्दै अविलम्ब हटाउन माग गर्दै चुरोट खैनी सूर्तिजन्य पदार्थमाथि प्रतिबन्ध लगाउन माग गरेका थिए ।

आर्थिक विधेयकमाथिको दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले असोज ७ गतेका लागि छलफलको मिति तोकेका छन् । यसअघि विनियोजन विधेयकलाई पारित गर्नुपूर्व सांसद प्रेम सुवालले राखेको खर्च कटौतीको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । यस्तै अर्थमन्त्रीले सभामा प्रस्तुत गरेको राष्ट्र ऋण उठाउने विधेयक २०७८ पनि बहुमतले स्वीकृत गरेको छ ।

प्रतिनिधि सभाको अर्को बैठक असोज ७ गते अपराह्न २ बजे बस्नेछ ।

सम्बन्धित समाचार