नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ असोज ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषद् विस्तार चाडै हुने बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकपछि संसद भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।
सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश गलत भएको भन्दै यादवले भने, ‘सरकारले अब चाँडै पूर्णता पाउँछ । सरकारले पूर्णता पाउन मन्त्रालयको बाँडफाँट हुनुपर्छ, त्यो अहिलेसम्म भएको छैन, अध्यादेश खारेज हुनेबित्तिकै सरकारले पूर्णता पाउँछ ।’ यादवले अध्यादेशले लोकतन्त्रलाई अस्थिर बनाएको र अध्यादेश गलत भएको भन्दै खारेज हुनुपर्नेमा जोड दिए ।
गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले सोही दिन कांग्रेस र माओवादी केन्द्रका तर्फबाट चार जना सदस्यलाई मन्त्री नियुक्त गरेका थिए । त्यसपछि देउवाले स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकोमा प्रधानमन्त्रीको आलोचना हुँदै आएको छ।

