नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असाेज ।

नेकपा एमालेमा पूर्णकालीन नेता कार्यकर्तालाई तलब दिने प्रस्ताव राखिएको छ । एमालेको प्रस्तावित विधान संशोधनको प्रतिवेदनमा मासिक खर्च उपलब्ध गराउने उल्लेख छ । ‘पार्टीका पूर्णकालीन सदस्यलाई सम्बन्धित कमिटीले आवश्यक मासिक खर्च व्यवस्था गर्नेछ,’ प्रतिवेदनमा भनिएको छ, ‘पार्टीका नेता वा कार्यकर्तालाई काममा खटाउँदा हुने खर्चको व्यवस्था काममा खटाउने सम्बन्धित कमिटीले गर्नेछ ।’
त्यसैगरी केन्द्रीय कमिटीले एकता र एकीकरण प्रक्रिया अघि बढाउन निर्वाचित केन्द्रीय सदस्यको २० प्रतिशत थप्न सक्ने व्यवस्था प्रस्तावमा उल्लेख छ । एमालेले जेष्ठ कम्युनिस्टहरुको छानबिन गरी उनीहरुलाई परिचयपत्र पनि दिने भएको छ ।
हिजो बसेको स्थायी कमिटी बैठकले पार्टीका सबै पदाधिकारी निर्वाचित गर्ने निर्णय गरेको थियो । यसअघि अध्यक्ष बाहेकका पदाधिकारी केन्द्रीय कमिटीबाट मनोनयन गर्ने व्यवस्था सहितको प्रस्ताव ल्याइएको थियो । विधान महाधिवशेनमा पेश गर्ने प्रतिवेदनबारे छलफल गर्न दुई दिन चलेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख योगेश भट्टराईले पछिल्लो पटक आएको विधान संसोधन सम्बन्धी प्रस्ताव मुलतः नवौं महाधिवेशनकै निरन्तरता भएको बताए।
एमालेको विधान महाधिवेशनमा प्रस्ततु हुने दस्तावेज स्थायी कमिटीमा छलफल भएर केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको छ । एमालेको विधान महाधिवेशन असोज १५–१७ गतेसम्म हुनेछ ।

