नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असाेज ।

कञ्चनपुरमा भारतीय तस्करबाट सशस्त्र प्रहरीका ३ जना जवान निर्घात रुपमा कुटिएका छन् । सोमबार राति ८ बजे नेपाल भारत सीमा क्षेत्रस्थित दोधारा चाँदनी नगरपालिका वडा नं. ८ मा कुटिएका हुन् ।
स्थानीयका अनुसार नेपाली भूमिमा भारतीय नम्बर प्लेटको मोटर साइकलमा तस्करले चिनीलगायतका साम्रग्री ओसार पसार गरिरहेका थिए । सशस्त्र प्रहरीले तिनीहरुलाई रोकेर नियन्त्रणको प्रयास गरेको थियो । तर ८ जनाको समूहमा रहेको तस्करहरुको समूहले उल्टै प्रहरीलाई नै घेराबन्दीमा पारेर कुटपिट गरेको हो ।
तस्करबाट कुटिनेमा प्रहरी जवान सुदिप सुनारलगायत ३ जना रहेका छन् । तर सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक विरेन्द्र ऐरले तरस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा तस्करहरुले ढुंगामुढा गरेको बताए ।
तस्करहरुको सो समूहले प्रहरीलाई कुटपिट गर्नुका साथै नियन्त्रणमा लिइएको मोटरसाइकल र चिनी पनि खोसेर लगेको प्रहरीले जनाएको छ । तस्करको कुटाईबाट घाइते प्रहरी जवानहरुको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको बताइएको छ ।

