सरकारकै संरक्षणमा गुण्डागर्दी भैरहेको ओलीको आरोप, प्रतिवादमा उत्रन कार्यकर्तालाई निर्देशन

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको आरोेप लगाएका छन् । ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियुका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

अनेरास्ववियूको नयाँ नेतृत्वको शपथग्रहणका लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले जनताले भयरहित ढंगले जीवनयापन गर्न चाहेको र त्यसविरुद्ध सरकार लागे प्रतिवादमा उत्रनुको विकल्प नरहेको बताए । ओलीले सरकारले जनतालाई दुःख दिने काम मात्रै गरेकाले आफूहरूले आपत्ति जनाउनुपरेको बताए ।

अध्यक्ष ओलीले जनताको हितमा केन्द्रित भएर अघि बढ्न पनि अनेरास्ववियुका नेता, कार्यकर्तालाई सचेत गराए । मुलुकलाई समृद्ध बनाउने अभियानलाई लक्ष्य बनाएर युवा, विद्यार्थीहरुले अघि बढनुपर्नेमा उनको जोड थियो ।

सम्बन्धित समाचार