देउवाले मन्त्रीको नाम मागेपछि प्रचण्डले बोलाए स्थायी कमिटी बैठक, को-को बन्लान् मन्त्री ?

मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कम्तिमा दुई मन्त्रीको नाम दिन आग्रह गरेपछि प्रचण्डले स्थायी समिति बैठक बोलाएका छन् । सरकारमा जाने मन्त्रीको नामबारे छलफल गर्न प्रचण्डले बैठक बोलाएका हुन् ।

बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । देउवाले आज कम्तिमा २ मन्त्रीलाई शफत खुवाउने तयारी थरेको बुझिएको छ । काँग्रेसबाट २ र माओवादीबाट २ जना मन्त्री थप्ने सरकारको तयारी छ ।



नेकपा (एकीकृत समाजवादी) र जसपा भने तत्काल मन्त्री छान्न तयार छैनन् । देउवाले पनि कांग्रेस पदाधिकारी बैठक बोलाएर मन्त्रीको टुंगो लगाउने भएका छन् । पौडेल पक्षले पनि परराष्ट्रमा दाबी गरेपछि काँग्रेस विवाद सतहमा आएको छ ।

को-को बन्लान् मन्त्री ?
अहिले भइरहेको चर्चा अनुसार माओवादी केन्द्रको तर्फबाट अब देवेन्द्र पौडेल मन्त्री बन्ने पक्कापक्की छ । पौडेल गण्डकी प्रदेशको तर्फबाट मन्त्रिमण्डलमा सहभागी हुनेछन् । त्यसैगरी माओवादी नेता हितबहादुर तामाङलाई पनि मन्त्री बनाउने तयारी छ । उनी बागमती प्रदेशको तर्फबाट मन्त्रिमण्डलमा सहभागी हुनेछन् । तामाङ माओवादी केन्द्र बागमती प्रदेशको सहइन्चार्ज पनि हुन् । उनले पटक–पटक अर्थमन्त्री भएका कांग्रेसका रामशरण महतलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यसैगरी राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने माओवादीको तयारी छ । श्रेष्ठ सरकारमा सहभागी भएको खण्डमा उनले माओवादीको तर्फबाट सरकारमा नेतृत्व गर्नेछन् ।

त्यस्तै १ नम्बर प्रदेशबाट भोजपुरबाट निर्वाचित सुदन किराँती मन्त्री बन्ने सम्भावना छ । किराँतीको नाममा पनि अहिले चर्चा भइरहेको छ । दलितको कोटाबाट बाँकेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश्वर गहतराजलाई पनि मन्त्रिमण्डमा सहभागी गराउने तयारी छ ।

प्रदेश नम्बर २ र सुदुरपश्चिमबाट पनि सकेसम्म मन्त्रिमण्डलमा सहभागी गराउने माओवादीको तयारी छ । मन्त्रालयको भागबण्डा कम पर्ने भएकाले यसपटक सबै प्रदेशलाई समेटिएर सरकारमा पठाउन भने माओवादीलाई सकस छ ।

सम्बन्धित समाचार