नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असोज ।

गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर ८ तम्घास थुम्का लाइनका तिलक परियारको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा परियारका तीन छोरी रहेका छन् । राति करिब १ बजे माथिबाट आएको पहिरोले घर पुरेपछि एउटै कोठामा सुतिरहेका तीन दिदी बहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । त्यस्तै घरमै रहेका तिलक, उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परी मृत्यु हेनेहरुमा तिलककी २१ वर्षकी छोरी भावना परियार, १४ वर्षकी गंगा परियार र जमुना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। गंगा -जमुना जुम्ल्याहा हुन् । उनीहरुको शवलाई अहिले गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ । तीन जनाकै शव आज बिहान साढे ४ बजे स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा निकालिएको थियो ।

