नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असाेज ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विहीबार मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बुधबार पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले बैठकमा अध्यक्षले गरेको ब्रिफिङका क्रममा अध्यादेशका कारण ढिला भए पनि अव ढिला नहुने जानकारी गराएको बताए ।
साथै गठबन्धनले दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउन प्रतिस्थापन विधेयक ल्याउने भएको छ । यससँगै जसपा पनि सरकारमा सहभागी हुने भएको छ । माओवादीको स्थायी कमिटी बैठकमा मन्त्रीका बारेमा सामान्य कुराकानी भएपनि प्रचण्डले नै अन्तिम रुप दिने भएका छन् । प्रचण्डले आफ्नो पार्टीबाट मन्त्री बन्नेको नाम भोलि देउवालाई दिने पनि बताएका छन् ।
को को बन्दैछन् माओवादीबाट मन्त्री ?
अहिले भइरहेको चर्चा अनुसार माओवादी केन्द्रको तर्फबाट अब देवेन्द्र पौडेल मन्त्री बन्ने पक्कापक्की छ । पौडेल गण्डकी प्रदेशको तर्फबाट मन्त्रिमण्डलमा सहभागी हुनेछन् । त्यसैगरी माओवादी नेता हितबहादुर तामाङलाई पनि मन्त्री बनाउने तयारी छ । उनी बागमती प्रदेशको तर्फबाट मन्त्रिमण्डलमा सहभागी हुनेछन् । तामाङ माओवादी केन्द्र बागमती प्रदेशको सहइन्चार्ज पनि हुन् । उनले पटक–पटक अर्थमन्त्री भएका कांग्रेसका रामशरण महतलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यसैगरी राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने माओवादीको तयारी छ । श्रेष्ठ सरकारमा सहभागी भएको खण्डमा उनले माओवादीको तर्फबाट सरकारमा नेतृत्व गर्नेछन् ।
त्यस्तै १ नम्बर प्रदेशबाट भोजपुरबाट निर्वाचित सुदन किराँती मन्त्री बन्ने सम्भावना छ । किराँतीको नाममा पनि अहिले चर्चा भइरहेको छ । दलितको कोटाबाट बाँकेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश्वर गहतराजलाई पनि मन्त्रिमण्डमा सहभागी गराउने तयारी छ ।
प्रदेश नम्बर २ र सुदुरपश्चिमबाट पनि सकेसम्म मन्त्रिमण्डलमा सहभागी गराउने माओवादीको तयारी छ । मन्त्रालयको भागबण्डा कम पर्ने भएकाले यसपटक सबै प्रदेशलाई समेटिएर सरकारमा पठाउन भने माओवादीलाई सकस छ ।

