नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असाेज ।
नेपालमा करिब ७९ लाखले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ लाख ९० हजार ३७५ रहेको छ।
त्यस्तै पहिलो मात्रा लगाउनेको सङ्ख्या ६२ लाख ६२ हजार ७८० पुगेको छ । पूर्ण मात्रा खोप लगाउने र पहिलो मात्रा मात्र लगाउने गरी एक करोड ४१ लाख ५३ हजार १५५ जनामा कोरोनाविरुद्धको खोप लगाइएको जनाइएको छ । प्रवक्ता पौडेलका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाउनेको सङ्ख्या २६ लाख ३६ हजार ८२३ पुगेको छ। यस्तै कोभिसिल्डको दुवै मात्रा लगाउनेको सङ्ख्या १४ लाख ८८ हजार ४३५ पुगेको छ।
भेरोसेल खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या ३६ लाख २५ हजार ९५७ पुगेको छ भने २८ लाख २३ हजार ६८३ जनाले भेरोसेलको पूर्ण मात्रा लगाएका छन्। यस्तै जोन्सन एन्ड जोन्सनको पूर्ण खोप लगाउनेको संख्या १४ लाख ४० हजार ७३५ रहेको छ।