किन स्वीकृत भएन वामदेव गौतमको राजीनामा ?

नेकपा एमालेलका उपाध्यक्ष वामदेव गौतमले एमालेका सबै पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ । गौतमले गत १८ भदौमा पार्टीको उपाध्यक्षसहित सबै जिम्मेवारीबाट पार्टी केन्द्रीय कार्यालय पुगेर राजीनामा दिएका थिए ।

गौतमको राजीनामा स्वीकृत नभएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । राजीनामा दिएपछि पनि गौतमको नाम अपडेट गरेर निर्वाचन आयोग पठाएकाले राजीनामा अस्वीकृत भएको तामाङले जानकारी दिए । नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए । उनी नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहेका थिए ।



एमाले ब्युँतिएपछि केही बैठकहरुमा भाग लिएका गौतमले पछिल्लो समय माधव नेपालले एमाले विभाजन गरेपछि नयाँ पार्टीमा लाग्ने घोषणा गरेका थिए । तर, एकीकृत समाजवादीले जनताका बहुदलीय जनवाद छाडेको भन्दै उनले माधव नेपालसँग जवाफ मागेका थिए । २०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका छन् । उनी राष्ट्रियसभाका सदस्य छन् भने पत्नी तुलसा गौतम प्रतिनिधिसभा सदस्य छन् । गौतम निकट नेताहरु यसअघि नै माधव नेपालको पार्टीमा गइसकेका छन् ।

 

सम्बन्धित समाचार