नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ असाेज ।

नेकपा एमालेका नेता एवम् पूर्व गृह मन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लड्न तयार रहेको बताएका छन्। नेता बादलले आउँदो चुनावमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिए। शुक्रवार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टीले निर्णय गरेमा प्रचण्डसँग भिड्न तयार रहेको बताएका हुन् ।
बादलले प्रचण्ड पार्टी लाइन छाडेर राष्ट्रियता विरोधी, लोकतन्त्र विरोधी र देशको समृद्धिको विरोधी लाइनमा लागेको आरोपसमेत लगाए । नेता थापाले सभामुख अग्निप्रसाद सापकोटा पार्टी कार्यकर्ताको भूमिकामा उभिएकाले आफ्नो पार्टीले विरोध गर्नुपरेको पनि स्पष्ट पार्नुभयो ।
बादल र प्रचण्ड दुबैजनाले चितवनलाई निर्वाचन क्षेत्रको रुपमा विकास गर्दै आएका छन् ।

