नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असाेज ।

बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र हिजो शनिबार शक्तिशाली चक्रवातमा परिणत भएको भारतका मौसमविद्ले बताएका छन्। जसलाई ‘गुलाब’ नामकरण गरिएको छ। भारतको मौसम विभागका अनुसार चक्रवात आउन सक्ने सम्भावना विचार गरेर उत्तरी आन्ध्र प्रदेश र यसको दक्षिण ओडिसाका तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।
विभागको तुफान चेतावनी प्रभागले चक्रवाती तुफान पश्चिमतर्फ अघि बढ्दै आज साँझसम्म उत्तरी आन्ध्र प्रदेशको कलिंगपत्तन र दक्षिणी ओडिसाको गोपालपुर तटको बीचबाट जाने सम्भावना रहेको जनाएको छ।
विभागले भनेको छ, ‘उत्तर–पश्चिम र यससँग जोडिएको पश्चिम मध्यबंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र पछिल्लो ६ घण्टामा प्रतिघण्टा ७ किलोमीटरको गतिमा पश्चिमतर्फ बढिरहेको छ र चक्रवात ‘गुलाब’ मा परिणत भएको छ।’
भारतमा विकसित गुलाब चक्रवातको प्रभाव नेपालमा पनि आंशिक पर्ने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु व्यासीका अनुसार गुलाब चक्रवातको आंशिक प्रभाव नेपालमा पर्सि मंगलबारदेखि पर्ने देखिएको छ। उनका अनुसार थप अनुमान भने त्यो चक्रवात जमिनमा ठोक्किएपछि गर्न सकिन्छ।

