
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि स्थानीय तहको निर्वाचन सुरु भएको छ । सोही क्रममा लमजुङको राइनास नगरपालिकामा भने कांग्रेस कार्यकर्ताले मतपत्र जलाएका छन् । २०२ क्षेत्रीय प्रतिनिधि रहेको सो नगर चुनावमा १२३ मत खसेपछि चुनाव नै रोकिएको छ । मतदाताको रूपमा रहेका क्षेत्रीय प्रतिनिधि घर फर्किएका छन् ।
यसको कारणचाहिँ नगर सभापतिको उमेदवार विवादले हो । उक्त नगरपालिकाको सभापतिमा नुरराज कडरिया र श्रीकृष्ण पौडेलको प्यानल चुनावमा भिडेको थियो । तर, मतपत्रमा मत दिने संकेत कडरियाको नाममा मात्र राखिएको छ । पौडेललाई मत दिने ठाउँमा मत संकेत गर्ने कुनै विकल्प राखिएको छैन । यसबाहेक दुवैको क्रमसंख्या १-१ राखिएको छ ।
यो मतपत्रका कारण कडरिया समूहको मात्र मतगणना हुने देखिएपछि मतदाताले मतपत्र नै जलाएका छन् । एक मतदात सुवास पौडेल भन्छन्, ‘दुवैको क्रमसंख्या १ छ, एकजना उमेदवारलाई त मत नै दिन नपाइने बनाइएको छ । २०२ मतदातामा १२३ मतदान भएको छ । निर्वाचन अधिकृतको मिलेमतोमा बनाइएको यो मतपत्र च्यातिएको छ । अब अधिवेशन कहिले हुन्छ थाहा छैन ।’
आफूले आफैँलाई मत हाल्न नपाउने गरी तयार भएको मतपत्रबारे नगर सभापतिका उमेदवार पौडेल भन्छन, ‘म त मत माग्नमा व्यस्त थिएँ । मतपत्र तयार भएपछि दुवै उमेदवारलाई निर्वाचन अधिकृतले बोलाउनुपर्ने हो, त्यो पनि भएन । वर्णानुक्रम अनुसार मेरो नाम अगाडि आउनुपर्थ्यो, त्यो पनि आएन । अर्को कुरा, दुईजना उमेदवार भएपछि क्रमसंख्या स्वत १ र २ हुनुपर्ने हो । दुवैको १-१ छ । यहाँ सरासर निर्वाचन अधिकृतको बेइमानी देखिन्छ । त्यसकारण चुनाव रोक्नुपर्छ भनेर लागेका हौँ ।’
कांग्रेसको महाधिवेशनको प्रक्रियाअन्तर्गत ५५ जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न भएको छ । वडाधिवेशन सम्पन्न गरेका ६४ जिल्लामध्ये शनिबार ५५ जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न गरिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

