सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन शीर्ष नेताहरुको छलफलमा राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गरेर मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादीका नेताहरु अध्यादेश फिर्ता लिन सहमत भएको एक नेताले बताए । अध्यादेश फिर्ता गर्न नहुने माधव नेपाल पक्षको अडानका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।गठबन्धनमा मन्त्रालय भागवण्डामा सहमति जुटिसकेकोले एक दुईदिनभित्र मन्त्रिपरिषद् विस्तार हुने बालुवाटार स्रोतले बतायो ।



छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लगायतको गठबन्धनभित्र रहेका पाँच दलका शीर्ष नेता सहभागी थिए । सत्ता गठबन्धनमैं रहेको अ दल नेकपा (एकीकृत समाजवादी) विरुद्धको मुद्दामा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै गठबन्धनमा दल विभाजन अध्यादेश खारेज गर्ने समझदारी जुटेको हो ।

नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । त्यसयता करिब दुई महिनाको अवधिमा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । अहिले सरकारमा पाँच मन्त्री र एक राज्यमन्त्री मात्र छन् । मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिन प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट दबाब छ ।

सम्बन्धित समाचार