नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असाेज ।

करिब ३८ क्विन्टल सुन तस्करीका साथै मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको छ। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा सुनुवाइको पहिलो दिन सरकारी वकिलले बहस गरेका छन् । आज पनि उनीहरुले नै बहस गर्नेछन् ।
सरकारी वकिलका तर्फबाट मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेलले अवैध सुन चोरी निकासी र पैठारीबारे बहस गरे। उनले मुद्दाका प्रतिवादीलाई बिगोबमोजिम जरिवाना र ५ वर्षसम्म कैद सजाय माग गरे। बहसमा पोखरेलले प्रस्तुत गरेको विषयलाई उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसाल र सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्लेले थप प्रष्ट पारे।
७७ जना प्रतिवादी रहेको मुद्दामा अवैध सुन चोरी निकासी र पैठारीमा नेपाल प्रहरीका एसपी विकासराज खनाल र डिएसपी प्रजित केसीलगायत ३ जनालाई भने प्रतिवादी बनाइएको छैन।
यो मुद्दामा सरकारी वकिलको बहस आजसम्म जारी रहने जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। उनका अनुसार सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस गर्ने छन्। त्यसपश्चात् फैसला हुने छ।
मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीलाई मुख्य अभियुक्त बनाइएको मुद्दा यही असोज ७ गतेदेखि सुनुवाइका क्रममा हेदाहेर्दैमा राखिएको थियो। तस्करी गरेर दुबईबाट ल्याएको साढे ३३ किलो सुन गायब बनाएको आरोपमा गोरेसहित उनको समूहले करेन्ट लगाएर यातना दिँदै ०७४ साल फागुन १८ गते उर्लाबारी नगरपालिका–१ मा सनम शाक्यको हत्या गरेको खुलेको थियो।

