दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न संसद् अधिवेशन फेरि अन्त्य गर्ने तयारी

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । राष्ट्रिय सभाको बैठक बिहान ११ बजेका र प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको सम्भावित कार्यसूचीअनुसार सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको सूचना सदनलाई सुनाउनेछन् ।

विनियोजन विधेयक ४ असोजमा प्रतिनिधिसभाले पारित गरेको थियो भने ७ असोजमा राष्ट्रिय सभाबाट पनि पारित भएको थियो । ७ गते नै उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पुगेर प्रमाणीकरण भएको थियो । तर, सदनको अन्य कार्यसूची छैन ।



राष्ट्रिय सभाले सोमबारको बैठकबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्नेछ । ८ असोजको बैठकमा यी दुई विधेयकमाथि ‘विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भइसकेको छ । ८ असोजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उक्त विधेयकहरूमाथि ११ असोजमा दफावार छलफल हुने जानकारी गराएका थिए ।

आइतबार बसेको गठबन्धनको बैठकमा सोमबार अध्यादेश टुंग्याएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति बनेको छ । त्यसअगाडि सोमबार नै संसद्बाटबजेटसम्बन्धी अध्यादेशको काम सकेर अधिवेशन टुंग्याउने सरकारको तयारी छ । दलसम्धन्धी अध्यादेश खारेज गर्न अर्को अध्यादेश ल्याउनुपर्ने भएकोले संसद्को अधिवेशन अन्त्य गर्न लागिएको हो ।

दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै गठबन्धनका दलहरु मन्त्रिपरिषद् विस्तारमा जुटेने भएका छन् ।

सम्बन्धित समाचार