यस्तो छ बसको नयाँ भाडादर, कहाँको भाडा कति ?(सूचिसहित)

अग्रिम टिकट बुकिङ खुला

दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ । राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागिर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । अहिले नयाँ बसपार्कमा टिकट लिने यात्रुको चाप देखिन्छ ।

सरकारले यस वर्षको दशैँका लागि घर जानेका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै पश्चिमको धनगढी, टिकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको सिराहा, सप्तरी, ताप्लेजुङ, इलाम, झापा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको बसपार्कमा लाइन देखिन्थ्यो ।



गत वर्ष कोरोना सङ्क्रमणका कारण अग्रिम टिकट बुकिङ खुला गरिएको थिएन । यस वर्ष भने समयमा नै अग्रिम टिकट बुकिङ खुला गरिएको हो । यसका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा ११ टिकट बुकिङ काउण्टर थप गरेको छ ।

प्रालिका महाप्रबन्धक सुनिल कुँवरले दशैँमा घर जाने यात्रुलाई व्यवस्थितरुपमा टिकट प्रदान गर्नका लागि टिकट काउण्टर थप गरिएको जानकारी दिए । गत वर्षमा यात्रुलाई हस्तलिखित टिकट प्रदान गरिँदै आए पनि यस पटक भने हस्तलिखित र प्रविधिमैत्री दुवैखाले टिकट वितरण गरिएको छ ।

सङ्क्रमण यथावत् रहेकाले अग्रिम टिकट बुकिङका लागि भौतिक दूरी कायम गरिएको छ । बसपार्क क्षेत्रमा चाडपर्वमा हुनसक्ने लुटपाट, चोरी, डकैतीलाई न्यूनीकरण गर्नका लागि लोत्सेले ३४ सेक्युरिटी गार्ड र नेपाल प्रहरीले ४० सुरक्षाकर्मी खटाएको छ ।

यस्तै, दशैँमा यात्रुलाई सुरक्षित तवरले गन्तव्य स्थलसम्म जाने वातावरण निर्माण गर्न गाडीलाई राम्रो किसिमको मर्मत सम्भार गर्नुका साथै माक्स र स्यानिटाइजरको अनिवार्य व्यवस्था मिलाइएको उनले बताए । प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि बसपार्कमा ११ टिकट काउण्टर थप गरेको जानकारी दिए । बसपार्कबाट हाल ३२ टिकट काउन्टर मार्फत कम्प्युटर प्रणालीको माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आएको छ ।

काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमती किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको सो बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले गत वर्षजस्तो यस वर्ष दशैँमा घर जानका लागि अग्रिम टिकट बुकिङका लागि आउने यात्रुको सङ्ख्या कमी भएको जानकारी दिए । ‘कोरोना सङ्क्रमण र बाटोको दूरावस्थाका कारण गत वर्षका तुलानामा यस वर्ष अग्रिम टिकट लिन आउनेको सङ्ख्या घटेको हुनसक्छ’, उनी भन्छन् । उनी यात्रुलाई टिकट लिएपछि राम्रोसँग आफू जाने गन्तव्य स्थल, मिति र समय हेर्न आग्रह गर्छन् ।

महासचिव सिटौला यात्रुको चापलाई हेरेर यातायात व्यवसायीले बस थप्दै जाने बताउछन् । नयाँ बसपार्कबाहेक चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाट समेत अग्रिम टिकट बुकिङ सुरुआत गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षले राजधानीबाट विभिन्न गन्तव्य स्थलसम्म जान लाग्ने भाडा दर र यात्रुलाई गन्तव्य स्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने जनाएको छ ।

नयाँ भाडादरको लागि यो लिंक खोल्नुहोला :Bhadadar२०७८-०३-२९अन्तरप्रदेशभाडादर2021-07-15_05-19-41-275

सम्बन्धित समाचार