नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असोज ।

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी असोज १४ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो ।
आज (सोमबार) बसेको बैठकमा विनियोजन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराइएको थियो । यसैबीच बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो ।
एमाले सांसदहरुको अवरोधकै बीच सभामुख अग्निप्रसाद सापाकोटाले विनियोजन विधेयक राष्ट्रपति भण्डारीबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन निरन्तर अवरोध गरिरहेको छ । सभामुखले आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदबारे सुचना टाँस नगरेसम्म संसद अवरुद्ध पार्ने एमालेले बताउँदै आएको छ ।

