नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असाेज ।
मध्यभोटेकोसी जलविद्युत कम्पनीले सर्वसाधारणका लागि ९० लाख कित्ता बराबरको आइपिओ बिक्री खुल्ला गर्ने भएको छ। बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। असोज २० गतेदेखि अंकित मूल्य १ सयका दरले कुल ९० लाख कित्ता अर्थात ९० करोड रुपैयाँको आइपिओ खुल्नेछ। त्यसमध्ये मध्यभोटेकोसी जलविद्युत कम्पनीका कर्मचारीका लागि ३ लाख ६० हजार कित्ता छुट्याइएको छ।
त्यस्तै म्यूचुअल फण्डहरुका लागि ४ लाख ५० हजार कित्ता छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ। यसैबीच कम्पनीले आयोजना प्रभावित र जिल्लाबासीका लागि यसअघि खुलाइएको आइपिओ आज बाँडफाँड गरिएको छ।
मध्यभोटेकोसी गाउँपालिका वडा नं १ र ५, बाह्रबीसे नगरपालिका वडा नम्वर ५, ६, ७ र ८ मा बसोबास गर्ने स्थानीय बासिन्दाको लागि १८ लाख कित्ता सेयर बाँडफाँड भएको छ। ५० देखि ४ सय कित्तासम्मका लागि आवेदन दिने प्रभावितमध्ये १२ हजार ९८ जनाले ५० देखि १८० कित्तासम्म पाएका छन्।