नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असोज ।

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । सत्तारुढ नेपाली कांग्रेसले सरकारमा सहभागी हुने बाँकी तीन मन्त्रीहरुको नाम टुंगो लगाएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताबीचको अनौपचारिक छलफलमा मन्त्री बन्नेको टुंगो लागेको हो ।
कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्री र एक राज्यमन्त्री पाएको छ । हाल कांग्रेसमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, परराष्ट्रमन्त्री डा.नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन् । यस्तो अवस्थामा अब कांग्रेसबाट ३ मन्त्री बन्ने छन् ।
कांग्रेस स्रोतका अनुसार रामचन्द्र पौडेल समूहबाट दुई र कृष्णप्रसाद सिटौला पक्षबाट एकजना मन्त्री बन्ने भएका छन् । पौडेल समूहबाट दिलेन्द्रप्रसाद बडू र डा.मिनेन्द्र रिजाल र सिटौला पक्षबाट भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एकजना मन्त्री बन्ने स्रोतले बताएको छ । कांग्रेसबाट मन्त्री बन्नेहरुको टुंगो लागेपनि मन्त्रालय भागबन्डाबारे भने टुंगो लागेको छैन ।
यस्तै, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले ६–६ मन्त्रालय लिने सहमति बनेको छ । संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा कुल २५ मन्त्री राख्न पाउँछन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएको तथा जसपा अध्यक्ष उपेन्द्र यादव काठमाडौँ बाहिर गएकाले बिहीबार वा शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने स्रोतले बताएको छ ।

