मेयरलाई मुक्का हान्ने युवक रिहा

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का हान्ने युवक गणेश पंगेनी धरौटीमा रिहा भएका छन् । बुटवलस्थित ज्योतिनगरको पहिरो अवलोकन गर्न पुगेका मेयर सुवेदीलाई पंगेनीले असोज ४ गते मुक्का हानेका थिए ।

पंगेनी ५ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् । उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन् । चुरेबाट पहिरो खस्दा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको अवलोकन गर्न पुगेका मेयर सुवेदीलाई पङ्गेनी एक्कासी मुक्का प्रहार गरेका थिए । पहिरो पीडितलाई सरकारले केही नगरेको भन्दै उनले मुक्का हानेका थिए ।



उनलाई दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो । पंगेनी बुटवलको ज्योतिनगरका पहिरो पीडित हुन् । उक्त क्षेत्रमा पहिरोका कारण करिब दुई दर्जन घरपरिवार प्रभावित भएका छन् ।

सम्बन्धित समाचार