नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असाेज ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले संविधान विपरीत काम गर्दा पनि मिडियाले खबरदारी नगरेको आरोप लगाएका छन्। मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा ओलीले सरकारले संविधान विपरीत काम गर्दा पनि मिडियाका साथीहरुको खबरदारी नपुगेको हो कि ? भनेर प्रश्न गरे।
‘हिजो तपाईंहरुले जनताको हितप्रति सजग रहोस् भनेर खबरदारी गर्नुभयो। खबरदारी गरेन भने सरकार अलि लापरवाही गर्दो रहेछ,’ उनले भने, ‘अहिलेको सरकारप्रति खबरदारी पुगेन की क्या होरु गल्ती गरिरहेको छ। अहिले संविधान मिचिँदा पनि सञ्चारमाध्यम चुप लागेको जस्तो भएको छ।’ ओलीले अहिले मुलुक एउटा गम्भीर मोडमा पुगेको पनि बताए।
आफूले अध्यादेश ल्याउँदा उत्पात मच्चाएकाहरुले नै अहिले त्यही उद्देश्यका साथ अध्यादेश ल्याउने काम गरेको ओलीले टिप्पणी गरे।
‘यो संविधानसम्मत भएन भनेर सम्पादक साथीहरुले लेख्नु नै भयो होला भन्ने लाग्छ,’ उनले भने, ‘एमालेलाई विभाजन गराउने उद्देश्य बाहेक अध्यादेश ल्याउने अरु कुनै कारण नै छैन।’

