नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असाेज ।

कपनको बलुवाखानीबाट हराएका चार वर्षीय पियुष शर्मा भारतको बिहारमा सकुशल भेटिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनी भारतको बिहारमा आफन्तसँग रहेको भिडियो च्याटमा देखिएपछि सकुशल रहेको पुष्टि भएको हो ।
प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले बालक सकुशल रहेको जानकारी दिए । ‘अहिलेसम्मको अनुसन्धानबाट बालक सकुशल रहेको खुलेको छ । हामीले भिडियो च्याट पनि गर्यौं । भिडियोमा सकुशल नै देखिएको छ ।’
उनी किन भारत पुगे भन्ने विषयमा भने अनुसन्धान हुन बाँकी रहेकाे बताइएकाे छ । पियुष सोमबार ४ बजे बालुवाखानीबाट सम्पर्कविहीन भएका थिए । उनीसँगै छिमेकी शंकर दास पनि सम्पर्कविहीन बनेपछि अपहरणको आशंका गरिएको थियो । पियुष अपरहणमा परे नपरेको विषय अनुसन्धानपछि मात्रै खुल्ने एसपी बस्नेतले बताए ।

