नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असाेज ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभालाई विघटन गरेर चुनाव घोषणा गर्नुपर्ने बताएका छन् । उनले संसद प्रभावकारी हुन नसकेको भन्दै ताजा जनादेशमा जान प्रस्ताव गरेका छन् । साथै ओलीले संसद्मा एमालेको अवरोध कायमै रहने बताएका छन् ।
आफू प्रधानमन्त्री हुँदा दुई पटक संसद विघटन गरेका ओलीले अहिले पनि आफू संसद विघटनको पक्षमा रहेको र यसमा गठबन्धनलाई साथ दिने बताएका छन् । अहिलेको गठबन्धनले नै चुनाव गराए पनि आफ्नो पार्टीलाई मान्य हुने ओलीले बताए ।
ओलीले अहिलेको राजनीतिक अकर्मण्यताको स्थितिमा ताजा जनादेशमा गएर देशलाई गतिशील बनाउनुपर्ने धारणा समेत राखेका छन् । ओलीले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेपनि दुबै पटक सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो । तर ओलीले अहिलेको संसदले ठीकसँग काम गर्न नसकेको भन्दै ताजा जनादेशमा जानुको विकल्प नभएको दाबी गर्दै आएका छन् ।

